काठमाडौं। नेकपा एमाले बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सरकार विकास निर्माणमा असफल भएकाे बताएको छ। एमालेले गत २०७९ मङ्सिरमा सम्पन्न निर्वाचन पछि गठित प्रदेशसभाले पर्याप्त मात्रामा ऐन कानुन निर्माण गर्न नसकेको र प्रदेश सरकारको चालु आर्थिक वर्षको विकास बजेट खर्च निराशाजनक रहेको बताएको हो।
सरकारले संसद् बैठक आह्वान गर्न नचाहेको एमालेले आरोप लगाएको छ । संसद् अधिवेशन अन्त्य गरेको ४ महिनासम्म पनि प्रदेशसभा बैठक बस्न नसकेको र ऐन निर्माणमा गति लिन नसकेको एमालेले जनाएको छ । पहिलो कार्यकालमा ४३ वटा मूल ऐन बनाएको प्रदेशसभाको दोस्रो कार्यकालको गति हेर्दा एकतिहाइ काम पनि गर्न सक्ने अवस्था नरहेको एमालेको भनाई छ ।
‘ऐन निर्माणमा मात्र हैन सरकार विकास निर्माणमा पनि असफल छ । गत निर्वाचन पछि गठित प्रदेशसभाबाट पर्याप्त ऐन निर्माण हुन सकेको छैन भने सरकारको विकास बजेट खर्च पनि निराशाजनक रहेको छ ।’ एमालेको विज्ञप्तिमा उल्लेख छ, ‘गत असोज २२ गते २ वटा विधेयक पास गरेपछि स्थगित भएको प्रदेशसभाको बैठक ४ महिना पूरा भइसक्दा पनि बस्न सकेको छैन । हिउँद सकिन लाग्यो तर प्रदेश सरकारले हिउँदे अधिवेशन आह्वानको निर्णय गर्न चाहिरहेको छैन ।’