काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले १३२ केभीको अमरपुर–ढुंगेसाँघु प्रसारण लाइन निर्माण सुरु गरेको छ । प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको डबल सर्किट प्रसारण लाइन निर्माण सुरु गरेको हो ।
झापाको लखनपुरदेखि (दमक सबस्टेसन) अमरपुर सबस्टेसनसम्मको काबेली कोरिडोर १३२ केभी प्रसारण लाइन र सुनसरीस्थित इनरुवा सबस्टेसनदेखि संखुवासभाको बसन्तपुर हुँदै ढुंगेसाँघुसम्मको २२० केभी कोसी कोरिडोर प्रसारण लाइनलाई एक आपसमा आवद्ध गर्न अमरपुर–ढुंगेसाँघु लाइन निर्माण सुरु गरिएको जनाइएको छ ।
नेपाल सरकारको करिब एक अर्ब २० करोड रुपैयाँ लगानीमा आर्थिक वर्ष २०७५।७६ मा आयोजनाको निर्माण प्रक्रिया सुरु गरिएको हो । प्रसारण लाइन निर्माणका लागि २०७९ मा ठेक्का सम्झौता भएको थियो । आयोजनाअन्तर्गत अमरपुर तथा ढुंगेसाँघु सबस्टेसनमा दुई(दुईवटा लाइन बे निर्माण गरिने छ ।