ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभानमा सञ्चालित आँखा उपचार केन्द्रको आफ्नै भवन निर्माण गरिएको छ । दुई वर्षअघि नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ शाखाले सञ्चालनमा ल्याएको दोभान आँखा उपचार केन्द्रको भवन निर्माण गरिएको हो ।
सहरी विकास तथा भवन कार्यालय इलाममार्फत भ्याटसहित कुल ९७ लाख ८१ हजार १०६ रुपियाँको लागतमा भवन निर्माण गरिएको हो ।
उक्त बजेटबाट पपया कन्स्ट्रक्सन फुङ्लिङ, ताप्लेजुङले निर्माणको काम सम्पन्न गरी निर्माण कम्पनीका तर्फबाट बिहीबार नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखालाई हस्तान्तरण भएको छ । दोभान आँखा उपचार केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम र नेत्रज्योति सङ्घ शाखाका पदाधिकारीको उपस्थितिमा निर्माण कम्पनीले भवन हस्तान्तरण गरेको हो ।