काठमाडौं। हिमालयन रिइन्स्योरेन्स लिमिटेडले फागुन २० गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले राष्ट्रिय सभा र्गह, प्रदर्शनी मार्ग, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्ष ०७९।८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ। २०८० साल माघ मसान्तसम्म २० अर्ब चुक्तापूँजी पु¥याउनुपर्ने अवस्थामा कम्पनीले बोनस शेयर र हकप्रद मार्फत पूँजी बढाउन लागेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ प्रतिशत बोनस शयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १० अर्ब रहेको छ । ४ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी १० अर्ब ४० करोड कायम हुनेछ । कम्पनीले सर्वसाधारणमा भर्खरै आईपीओ जारी गरेको हो । गत पुस ११ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले पहिलो वर्षनै लाभांश वितरण गर्न लागेको हो ।
बोनस शेयरपछि कायम चुक्तापूँजीको आधारमा ८० प्रतिशत हकप्रद शेर निष्कासन गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ । कम्पनीले १० शेयर वराबर ८ शेयरको अनुपातमा ८ अर्ब ३२ करोड रूपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद पछि कम्पनीको चुक्तापूँजी १८ अर्ब ७२ करोड रूपैयाँ कायम हुनेछ । नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीका लागि तय गरेको न्यूनतम चुक्तापूँजी कायम गर्न हकप्रद पछि पनि कम्पनीलाई थप १ अर्ब २८ करोड रूपैयाँ आवश्यक हुन्छ ।