काठमाडौं। कर्णाली प्रदेशको डोल्पा जिल्लामा पहिचान भएको १०६ मेगावाटको जगदुल्ला आंशिक जलाशय जलविद्युत् आयोजना सम्पन्न गर्न ब्याजसहित २३ अर्ब लाग्ने भएको छ।
आयोजनाको वित्तीय व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । आगामी फागुन पहिलो साताभित्र वित्तीय व्यवस्थापन सम्झौता गर्ने योजना रहेको प्रवद्र्धक जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडले जनाएको छ।
आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अगुवाईमा नबिल बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल), लक्ष्मी सनराइज र एभरेष्ट बैंकले ऋण लगानी गर्ने तय भएको छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ ।
आयोजनामा निफ्राले ४ अर्ब ५८ करोड, नबिल बैंकले ४ अर्ब ५८ करोड, एचआइडिसिएलले ४ अर्ब, लक्ष्मी सनराइजले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने तय भएको छ । यसका लागि लगानीकर्ता र प्रवद्र्धक कम्पनीबीच ऋण सम्झौता गर्नुपूर्व गरिने ‘इन्डिकेटिभ टर्म सिट’मा हस्ताक्षर भइसकेको छ ।