काठमाडौं। १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको अनुमानित लागत बढ्ने देखिएको छ। १२ अर्ब अनुमान गरिएको मध्यभोटेकोसी जलविद्युतको लागत १५ अर्ब पुग्ने देखिएको हो।
सन् २०१४ मा निर्माण सुरु भएको आयोजना सम्पन्न हुन एक दशक लाग्दा आयोजनाको कूल लागत अनुमानितभन्दा २ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ बढेको छ । आयोजना निर्माण सम्पन्न गर्न ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रुपैयाँ अनुमान गरिएको थियो । अब यो बढेर ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ पुग्ने देखिएको हो।
हाल आयोजनाको संरचनाहरूको परीक्षण भइरहेको छ । चिलिमे जलविद्युत कम्पनीको सहायक मध्यभोटेकोसी जलविद्युत कम्पनीले सिन्धुपाल्चोकमा निर्माण गरेको आयोजनाको मुख्य सुरुङमा पानी भरेर परीक्षण गर्ने कार्य भइरहेको हो ।
दशक अघि निर्माण सुरु गरिएको मध्यभोटेकोसी आयोजना विविधि समस्या झेल्दै निर्माण सम्पन्न भएको हो । आयोजना निर्माण सम्पन्न भई परीक्षणको चरणमा रहेपनि विद्युत उत्पादन सुरु हुन भने अझै केही समय लाग्ने भएको छ ।
आयोजनाको विद्युत नेपाल विद्युत प्राधिकरणको बाह्रबिसे सबस्टेसनसम्म पुर्याउने प्रसारण लाइन तथा प्राधिकरणको सबस्टेसन निर्माणको काम बाँकी नै रहेकाले विद्युत उत्पादन सुरु हुन समय लाग्ने देखिएको हो ।