बागलुङ। गण्डकी प्रदेश सरकारले बागलुङ जिल्लाका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न पूर्वाधार निर्माण गर्न सुरु गरेको छ। गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बागलुङमा वर्षौंदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न पर्यटकीय संरचना बनाउन थालेको हो।
मन्त्रालयले यस वर्ष बागलुङका ७६ स्थानमा पर्यटकीय संरचना बनाउन थालेको छ । जिल्लाका १० वटै पालिकामा पर्यटन पूर्वाधार बनाउनका लागि रु छ करोड ४० लाख विनियोजन गरेको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत योजना कार्यान्वयन हुन थालेका हुन् ।
७६ योजनामध्ये हालसम्म ५८ योजना सम्झौता भएर कार्यान्वनमा रहेका छन् भने १८ योजना सम्झौताका चरणमा रहेका छन्। ती मध्ये सबैभन्दा बढी २० योजना बागलुङ नगरपालिकामा परेका छन् ।