नेपालगञ्ज। बाँकेमा खुल्ला कारागार बनेको दुई वर्ष भैसकेको भएता पनि हालसम्म कैदी बस्न पाएका छैनन्। बाँकेको गनापुरमा ३७ कोठे खुल्ला कारागार निर्माण भएको छ तर भवन निर्माण सकिएको २ वर्ष वितिसक्दा पनि कारागार विभागले हालसम्म त्यहाँ कैदी बस्ने व्यवस्था मिलाउन सकेको छैन। दुई तिहाई कैद भुक्तान गरिसकेका कैदीलाई खुल्ला कारागारमा राख्ने अवधारणा अन्तर्गत देशकै पहिलो खुल्ला कारागार बाँकेमा बनेको हो।
कारागार विभागले निर्माण भएको खुल्ला कारागार सञ्चालनका लागि कार्यविधि नबनाउँदा हालसम्म अलपत्र अवस्थामा रहेको छ। दुई तिहाई कैद भुक्तान गरेका कैदीलाई खुल्ला कारागारमा राखिने व्यवस्था रहेको छ। ती कैदीहरुले दिनभरी अन्यत्र काम गर्ने र साँझ खुल्ला कारागारमा आएर बस्ने भनिएको छ।
यसैगरी खुल्ला कारागारमा बस्ने कैदीले दिनभरी अन्यत्र काम गर्न पाउने भनिएको छ। त्यसरी काम गर्न जाँदा र फर्किँदा उसको सुरक्षाको जिम्मेवारी कसको हुने उल्लेख गर्नु पर्ने सुझाव दिइएको छ। हाल बाँके कारागारमा ८ सय १५ जना कैदी बन्दी रहेका छन्। साढे तीन सय क्षमताको कारागारमा आठ सय बढी कैदी बन्दीलाई कोचेर राखिएको हुनाले खुल्ला कारागार भएको अवस्थामा जिल्ला कारागारमा केही खुकुलो हुने सम्भावना देखिएको छ।
यसैगरी बाँकेकै नौबस्तामा आठवटा ब्लकसहितको क्षेत्रीय कारागारनिर्माण भइरहेको छ। कारागारको चार वटा ब्लकको काम अन्तिम चरणमा पुगेको छ। एक हजार पाँच सय बढी कैदी बन्दीलाई राख्ने क्षेत्रीय कारागार तीन महिनाभित्र सञ्चालन गर्ने तयारी भएको छ। पछिल्लो समय कारागार विभागले देशका विभिन्न ठाउँमा कारागार बनाइरहेको छ। तर विभिन्न समस्या र कठिनाइका कारण ती सबैको निर्माणको काम समयमै हुन सकिरहेको छैन।