सर्लाही। लालबन्दी नगरपालिकाका अति विपन्न ३ परिवारले घर पाउने भएका छन् । मधेश प्रदेश सरकारले सोमबारदेखि ३ परिवारको घर निर्माण सुरु गरेको हो।
सोमबार प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यमा नगरपालिकाको वडा नम्बर–५ र वडा नम्बर–१० मा निर्माणको थालनी गरिएको हो । लालबन्दी नगरपालिका–५ का वडाध्यक्ष मिनप्रसाद ढुङ्गेलका अनुसार ५ नम्बर वडामा दुई र १० नम्बर वडामा एक परिवारको गरी ३ परिवारले चालु आर्थिक वर्षमा घर पाउनेछन् ।
प्रदेश सरकारले लालबन्दी–५ का मैतिदेवी पाख्रिन र हरिप्रसाद धमलाको घर बनाउन सुरु गरेको हो । वडा कार्यालयले उपभोक्ता समिति गठन गरी काम थालिएको छ । त्यस्तै वडा नम्बर–१० का गणेश मिरिङचिङकको पनि सोमबारदेखि नै घर निमार्ण सुरु भएको वडा कार्यालयले जनाएको छ । ज्यामी मनदुरी गर्दै आएका उनीहरू घर नभएकै कारण सामान्य छाप्रोमा बस्दै आएका थिए ।
वडाको सिफारिसमा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत महेन्द्रनारायण निधी आवास योजनाबाट प्रतिघर ५ लाख लागतमा सो आवासको निर्माण थालनी गरिएको हो। सोमबार प्रदेशसभा सदस्य लुँगेली, नगर उप्रमुख कल्पनामाया पाख्रिन, लालबन्दी–५ का वडाध्यक्ष ढुंगेल, लालबन्दी–१० का वडाध्यक्ष टोपबहादुर श्रेष्ठलगायतले शिलान्यास गरेका हुन् ।