काठमाडौं। बुटवल उपमहानगरपालिकाले बहुतले पार्किङसहितको बहुउद्देश्यीय भवन निर्माणको योजना बनाएको छ। लुम्बिनी बस टर्मिनल परिसरमा आधुनिक सपिङ कम्प्लेक्सका सम्पूर्ण सुविधासहित ‘बुटवल सिटी सेन्टर’ बहुउद्देश्यीय भवन बनाउने योजना अगाडि सारिएको उपमहानगरपालिकाले जानकारी दिएको छ।
सो भवन वहुवर्षे योजनाका रूपमा सार्वजनिक–निजी साझेदारीमा अगाडि बढाइएको हो। बुटवल वडा नं. ९ मा रहेको बस टर्मिनल क्षेत्रमा बहुतला पार्किङसहितको बहुउद्देश्यीय भवन निर्माण, सञ्चालन तथा हस्तान्तरण आयोजना अवधारणमा कार्यान्वयनको प्रक्रिया अगाडि बढाइएको उपमहानगरपालिका प्रमुखले जानकारी दिएका छन्।
उपमहानगरपालिकाले बस टर्मिनल क्षेत्रको कित्ता नम्बर ५ को करिब चार विगाहा क्षेत्रफल जमिन सो भवन निर्माणको लागि छुट्याईसकेको छ। करिब दुई अर्बको लागत अनुमान गरिएको योजनामा हाल भवन निर्माणलगायतका प्रक्रियाका लागि सार्वजनिक सूचना जारी गरिएको छ। बुटवल उपमहानगरको भवन निर्माण सम्बन्धी मापदण्ड २०७४ खारेज गर्दै नयाँ मापदण्ड बनाएसँगै अब बुटवलमा तोकिएको क्षेत्रमा बहुतले भवन निर्माण गर्न सकिने भएको छ। बढ्दो जनघनत्व र जग्गाको अभावलाई मध्यनजर गर्दै नयाँ अवधारणा बनाइएको उपमहानगर प्रमुखको भनाइ छ।
उपमहानगरका सहरी विकास तथा योजना महाशाखा प्रमुख एवं वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले कम्पनी छनोट भएलगत्तै निर्माण कार्य अगाडि बढाइने बताएका छन्। हाल निर्माणस्थलको सर्भे, माटो परीक्षण, वातावरणीय प्रभावलगायतका प्रक्रिया पूरा भइसकेको उनले बताए। यस्तै पछिल्लो चार वर्षको अवधिमा विभिन्न संघसंस्था तथा व्यक्तिले प्रयोग गर्दै आएको बुटवलको करिब तीन सय विगाहा सार्वजनिक जग्गा संरक्षण गरि सरकारको मातहत ल्याईएको उपमहानगर प्रमुखको दाबी रहेको छ।