काठमाडौं। बुद्धको जन्मस्थल लुम्बिनी र भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण त्यस आपसपासका क्षेत्रमा स्तरीय तारे होटल सञ्चालनमा आएका छन्। कोरोनाका कारण लगानीमा ढिलाइ गरिरहेका केही व्यवसायी पनि हाल होटल निर्माणमा अग्रसर देखिएका छन्। कोरोना महामारीका कारण करिब दुई वर्ष मुलुकभर उत्पादन र लगानीका क्षेत्र प्रभावित भएका थिए।
रूपन्देहीको बेलहिया मुलुकमै धेरै पर्यटक भित्रिने नाका हो। सो नाका खुलेपछि त्यस क्षेत्रका पर्यटन व्यवसायी हौसिएका छन्। हाल सीमावर्ती भारतीय आउन थालेपछि होटलले सेवा थप गरिरहेका छन्। उक्त जिल्लामा साना रेस्टुराँ र लजसँगै दुईदेखि पाँचतारेसम्मका होटल सञ्चालनमा छन्। विशेषगरी भैरहवा, बुटवल र लुम्बिनीमा तारे होटलमा लगानी गर्ने व्यवसायीहरु बढेका छन्।
पवन हलुवाई र राजीव बेरिवालको ३ अर्ब रुपैयाँ लगानीमा लुम्बिनी सांस्कृतिक नगरपालिका–९ महजिदियामा साढे ३ बिघा क्षेत्रफलमा निर्माण भएकोहोटल पवन प्यालेसमा हाल पर्यटकको चहलपहल बढेको छ। साततले भवनसहित अन्य संरचना ४ वर्षमा तयार भएका सो होटलमा १४७ कोठा रहेको छ भने उक्त प्यालेसका अहिले ७० कोठा र एउटा रेस्टुरेन्ट प्रयोगमा रहेको होटल सञ्चालकले जानकारी दिएका छन्। सो होटलमा स्विमिङ पुल पनि रहेको र आगामी दिनहरुमा पनि लगानी थप्दै जाने होटेल सञ्चालकले जानकारी दिएका छन्। हाल स्वदेशी पर्यटक मात्र त्यहाँ जाने गरेको र विमानस्थल सञ्चालनमा आएपछि विदेशी पर्यटक पनि आउने विश्वास गरिएको छ।
यसैगरी रूपन्देहीको मायादेवी गाउँपालिका–८ अञ्चलपुरमा नेपाली नयाँ वर्षबाट सञ्चालन सुरु गर्ने गरी होटल सिद्धार्थ इन्टरनेसनल निर्माणको अन्तिम चरणमा छ। रूपन्देहीमा बाह्य पर्यटकको आगमन बाक्लिने निश्चित भएकाले पहिलेदेखि बुटवलमा परिचित सिद्धार्थ ग्रुपलाई थप सुविधायुक्त होटलमा लगानी गर्न पर्यटकीय वातावरणले सघाएको जनाइएको छ। तिलोत्तमामा वैदेशिक लगानीमा सञ्चालनमा आएको टाइगर प्यालेस रिसोर्ट क्यासिनोसहितको पाँचतारे होटल केही विवाद भएकाले बन्द छ। तर यसलाई पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
यसैगरी जिल्लाका परिचित व्यवसायी बालकृष्ण भुसालको लगानीमा होटल मेगाका नाममा भैरहवामा पाँचतारे र बुटवलमा चारतारे होटल निर्माण भइरहेको छ। यसमध्ये भैरहवाको होटल मेगा डेढ वर्षपछि सञ्चालन गर्ने योजना रहेको छ। दुई वर्षमा निर्माण सक्ने भनिए पनि कोरोना महामारीका कारण केही समय बढी लाग्ने देखिएको छ। बुटवलमा निर्माण हुने चारतारे होटल मेगा तेस्रो एडिसन होटल हो, जुन होटल ५५ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुनेछ। यसको निर्माण ३ वर्षमा निर्माण सक्ने लक्ष्य रहेको छ।