काठमाडौं। ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको अडिट २ र अडिट ३ बिचको ३.८ किलोमिटर सुरुङ छेडिएको छ । बुधबार ३८३६ मिटर दूरीको सुरुङको निर्माण पूरा भएको हो ।
कूल ६.२७० किलोमिटर मुख्य सुरुङ खन्नुपर्नेमा अब ३५० मिटरमात्र बाँकी रहेको रघुगंगा हाइड्रो पावर लिमिटेडले जनाएको छ। अब १५ दिनभित्रै सुरुङको लाइनिङ र ग्राउटिङको काम सुरु गर्ने तयारी रहेको बताइएको छ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीले निर्माण गरिरहेको यस आयोजनाको अहिलेसम्म ७१ प्रतिशत काम पूरा भएको आयोजनाले जानकारी दिएको छ । अबको डेढ वर्षभित्र सम्पूर्ण काम पूरा गरेर विद्युत् उत्पादन गर्ने तालिका रहेको समेत आयोजनाले जनाएको छ।
भारतीय एक्जिम बैंकको ६.७० करोड अमेरिकी डलर सहुलियत ऋण, प्राधिकरण र सरकारको लगानीमा निर्माण भइरहेको आयोजनाको कूल लागत करिब ८ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।