काठमाडौं। नेकपा एमालेका सचेतक महेश बर्तौलाले मकवानपुरका विभिन्न पालिकामा चुनढुङ्गा खानी सञ्चालनबाट मानवीय बस्ती जोखिममा रहेका बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बर्तौलाले सिमेन्ट कम्पनीले अव्यवस्थित ढंगले खानी सञ्चालन गरेका कारण समस्या भएको बताएका हुन्।
उनले भने, ‘मकवानपुर गढी गाउँपालिकामा सिमेन्ट उद्योगले खानी सञ्चालन गरिरहेको छ । जुन खानी असाध्यै अव्यवस्थित ढङ्गबाट, मापदण्डभन्दा बाहिरबाट गएर सञ्चालन गरेका कारण त्यहाँको ठुलो मानवीय बस्ती जोखिममा छ । त्यहाँ सुकौरा, डुम्रे, धमिले, झल्ला, चौकीटोल ठुलो मानव बस्तीमा असर गर्ने गरी खानी उत्खनन् भइरहेको छ । उत्खनन् गरेको सामग्री जथाभाबी अव्यवस्थित ढङ्गबाट सामरी खोलामा फालिँदा त्यहाँको विद्यालय खेतीयोग्य जमिनमा असर गरेको छ ।’
उनले देशभरिका यस्ता खालका खानीको अध्ययन गरेर समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाउन माग गरेका छन् ।