काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको २५औं साधारण सभा आगामी चैतमा हुने भएको छ। महासंघले आज एक सूचना जारी गर्दै साधारण सभा चैत १६ र १७ गते हेटौंडामा हुने जानकारी दिएको हो।
महासंघले साधारण सभा प्रतिनिधिको नामावली महासंघको विधानले तोकिए बमोजिम चैत ९ गते कार्यालय समयभित्र सम्बन्धित प्रदेश महासंघको सिफारिस सहित महासंघ सचिवालयमा पुग्ने गरी पठाउन समेत आग्रह गरेको छ।
त्यसैगरी महासंघले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अद्यावधिक नवीकरण सहितको दर्ता प्रमाण-पत्र, सम्वन्धित प्रदेश निर्माण व्यवसायी महासंघको सदस्यता नवीकरण भएको प्रमाण र प्रतिनिधि सिफारिस पत्र, साधारण सभा प्रतिनिधि चयन गरेको कार्यसमितिको निर्णयको प्रमाणित प्रतिलिपि, साधारण सभा प्रतिनिधि आवद्ध रहेको फर्म/कम्पनीको PAN/VAT र इजाजत पत्रको अद्यावधिक प्रतिलिपि सहित महासंघबाट तोकिए बमोजिमको फाराम भरेर पठाउन समेत विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
सहभागी दर्ता शुल्क मुख्य प्रतिनिधि, प्रतिनिधि र पर्यवेक्षकले प्रति व्यक्ति रु. ३,०००/- (रु. तीन हजार मात्र) रजिष्ट्रेशन शुल्क (सहभागी दर्ता शुल्क) बुझाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
साधारण सभामा भाग लिन सबै सदस्यहरूले चालु आ.व. २०८०/८१ सम्मको महासंघको सदस्यता नवीकरण गरेको हुनुपर्ने वा नगरेको भए २०८० साल चैत्र ०९ गतेभित्र नवीकरण गरिसक्नुपर्ने बताइएकाे छ।
