काठमाडौं। ९९.८ मेगावाटको तामाकोसी–५ जलविद्युत् आयोजना निर्माणका लागि २१ अर्ब १३ करोड लाग्ने अनुमान गरिएको छ। आयोजनाको कूल २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लागत अनुमान गरिएको हो।
अनुमानित लागतमध्ये ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजी (इक्विटी) लगानी हुनेछ । स्वपुँजी मध्ये प्राधिकरणको ६८ प्रतिशत र सर्वसाधारण नागरिकको ३२ प्रतिशत लगानी रहने गरी लगानीको मोडल तयार गरिएको छ। आयोजनामा कर्मचारी सञ्चय कोषले १३.७४ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता सम्पन्न भएको छ। कोषसँग गत जेठ ७ गते सम्झौता भएको थियो।
त्यसैगरी आयोजनाको निर्माण ठेक्का चिनियाँ कम्पनीले पाएको छ। आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो होइड्रो कर्पोरेशन लिमिटेड र नेपाली साझेदार कुमार श्रेष्ठ निर्माण सेवाको संयुक्त उपक्रम (जेभी) कम्पनीले पाएको छ।
आयोजनाको निर्माणका लागि प्राविधिक प्रस्तावमा छनोट भएका दुई कम्पनीमध्ये आर्थिक प्रस्तावमा कम रकम कबोल गर्ने सिनो हाइड्रो छनोटमा परेको हो।