काठमाडौं। जाजरकोट भूकम्पबाट प्रभावितका लागि अस्थायी आवास निर्माणले तीव्रता पाएसँगै सरकारले अनुदान रकम वितरणलाई प्राथमिकताका साथ अघि बढाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अनुदानको दोस्रो किस्ता उपलब्ध गराउन थप ९० करोड निकासा भएको छ ।
यसमध्ये ५० करोड जाजरकोट र ४० करोड रुकुम पश्चिमका जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइसकिएको प्राधिकरणले जनाएको छ।
आजसम्म अस्थायी आवास निर्माण गर्न कूल रु तीन अर्ब १६ करोड निकासा भएको प्राधिकरणले जनाएको छ । हालसम्म पहिचान भएका लाभग्राहीको सङ्ख्या ८२ हजार नौ सय ३७ पुगेको छ । अस्थायी आवास निर्माणमा पनि उल्लेख्य वृद्धि भएको जनाइएको छ।
अहिलेसम्म ४८ हजार पाँच सय ६५ आवास बनिसकेका छन् भने निर्माण भइरहेका अस्थायी आवासको सङ्ख्या सात हजार आठ सय ३३ रहेको प्राधिकरणले जनाएको छ ।