काठमाडौं। मुडे–चरिकोट सडक विस्तार तथा कालोपत्रको काम अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राखिने भएको छ।
अलपत्र पारिएको सडकका विरुद्ध दोलखाका पत्रकारको अगुवाइमा गठित सङ्घर्ष समितिसँगको भेटमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले एक हप्ताभित्र ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्काको सम्झौता तोड्ने बताएका हुन्।
सचिव श्रेष्ठले सडक अलपत्र पारेर जनतालाई सास्ती दिने कामप्रति भौतिक पूर्वाधार मन्त्री पनि गम्भीर रहेको जानकारी दिए। उनले ठेक्का तोड्न तलबाट प्रक्रिया पूरा गरेर नयाँ टेन्डर आह्वान गर्ने बताए।
खाडीचौर–मुडे हुँदै चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तारको काम अलग अलग ठेकेदारले पाएका थिए। मुरे–चरिकोटको काम शङ्कर माली निर्माण सेवाले गरिरहेको तर ठेकेदार मिटरब्याजको फन्दामा परेपछि काम अलपत्र छ।
शङ्करमाली–सुनौला खिम्ती र भारतको सकिल हैदर जेभीले २०७२ मा सडक विस्तारको ठेक्का पाएको थियो। विसं २०७४ भित्र सम्पन्न हुनुपर्ने काम ४ वर्ष ढिला भएपछि सडक डिभिजन कार्यालयले ठेकेदारलाई दैनिक ४ लाखका दरले हर्जनासमेत तिराएको छ। ठेकेदार समस्यामा परेपछि सडकको काम अलपत्र छ।