काठमाडौं। सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गते आइतबारदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले यस अघि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि र दोस्रो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उद्योग प्रभावित स्थानीयसँगै खानी उत्खतत् क्षेत्रका स्थानीयमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तामा कम्पनीले २४ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो । त्यस्तै सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको ३६ लाख कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ६७ हजार कित्ता र आयोजना प्रभावित स्थानीयमा २ लाख ४८ हजार ४७० कित्ता आईपीओ बाँडफाँट भएको छ ।
अब तेस्रो चरणमा कम्पनीका कर्मचारी र सामूहिक लगानीकोष समेत सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी कम्पनीले गरेको हो । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँट गर्दा तय भएको ४०१ रूपैयाँ कटअफ मूल्यमा १० प्रतिशत छुट गरी सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले आईपीओ विक्री गर्न अनुमति पाएको हो ।
उद्योग प्रभावित तथा खानी उत्खनन् क्षेत्रका स्थानीयका लागि छुट्याएको शेयरमध्ये विक्री हुन नसकेको ६ लाख ८१ हजार ५३० कित्ता शेयर समेत थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको हो ।