पोखरा। पोखरा महानगरपालिकाले २५ प्रतिशत योजना काट्ने भएको छ । प्रक्षेपित राजश्व र संघ तथा प्रदेशबाट आउने अनुदान घट्ने भएपछि महानगरले योजनामा कटौती गर्न लागेको हो।
बिहीबार प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले एक परिपत्र जारी गर्दै अहिलेसम्म सम्झौता नभएका योजना कार्यान्वयन नगर्न भनेका छन् । परिपत्रमा भनिएको छ, ‘प्रक्षेपित राजश्व उठ्ने सम्भावना कम भएको, कर छुटलाई असारसम्म विस्तार गरेको तथा समानीकरण र राजश्व बाँडफाँटको आम्दानी हुनुपर्ने रकम समेत तोकिएको अनुमान भन्दा न्यून मात्र प्राप्त हुने भएकोले यस वर्षको खर्चमा कटौती गर्ने गरी महानगर प्रमुख स्तरीय निर्णय भएकोले कडाइका साथ कार्यान्वयन गर्न अनुरोध छ।’
योजनाहरूमा छुट्याइएको कन्टिन्जेन्सी रकम खर्च नगर्न, हालसम्म सम्झौता नभएका योजनाहरू कार्यान्वयन नगर्न, थप योजनामा रकमान्तर नगर्न निर्देशन दिइएको छ । यस्तै, कुनै योजनामा बचत भएको रकम अन्य योजनामा रकमान्तर नगर्न प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन र कार्यक्रम खर्च तथा योजनाहरू २५ प्रतिशत कटौती गरेर मात्रै सम्झौता र कार्यान्वयन गर्न भनिएको हो ।