काठमाडौं। धादिङमा निर्माणधिन हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट क्षमताको विद्युत जडान भएको छ।
मर्स्याङ्दी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ को स्वीचिङ स्टेसनबाट उद्योगमा सोमबार २० मेगावट क्षमताको बिजुली जोडिएको उद्योगकका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले जानकारी दिए।
विद्युत आपूर्तिसँगै उद्योगको परीक्षण उत्पादनको बाटो खुलेको छ। उद्योगलाई विद्युत आपूर्ति भएको छ, अब परीक्षण उत्पादनका लागि तयार भएको उनले बताए। अबको तीन सातापछि उद्योगले परीक्षण उत्पादन थाल्ने भएको छ। दुई महिनाभित्रै गुणस्तर परीक्षण सकेर व्यवसायीक उत्पादन सूरु गर्ने तयारी उद्योगले गरेको छ।
बेनिघाट रोराङ गाउँपालिकाका अनुसार सोमबार बिहान ७ बजेदेखि स्वीचिङ स्टेशन रहेको धादिङको सिद्धलेक गाउँपालिका ६ देखि उद्योगसम्मको प्रशारण लाइनमा विद्युत प्रवाह छ। १३२ केभी प्रशारण लाइनबाट विद्युत प्रवाह भएको भन्दै टावरमा नछुन, छेउछाउ नजान र सुरक्षाका उपाय अपनाउन पालिकाले सर्वसाधरणलाई सार्वजनिक सूचना मार्फतआग्रह गरेको थियो।
नेपालमा भित्रिएको विदेशी लगानीका उद्योगहरु मध्ये अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रभावशाली उपस्थिति रहेको कम्पनीको रुपमा हुवासिन सिमेन्टलाई लिइन्छ। हुवासिन सिमेन्ट उद्योगले दैनिक ३ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्नेछ।