रौतहट। युवा संघ नेपाल रौतहटले पूर्वाधार विकास कार्यालय रौतहटले मनपरी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएको छ। युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादवको नेतृत्वमा गएको टोलीले शुक्रबार जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाएको हो।
पूर्वाधार विकास कार्यालय रौतहटबाट कार्यकर्तामुखी, एका–सगोलमा बसी तथा व्यक्ति विशेष उपभोक्ता समिति गठन गरी मनपरी माध्यमबाट निर्माण कार्य गर्ने गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन गरेको बजेट अविलम्ब कार्यान्ययन गरी बजेट कार्यक्रम सञ्चालन गर्न उल्लेख गरेको बजेट खुल्ला प्रतिस्पर्धाबाट पूर्वाधार विकास कार्यालयबाट ५ दिन भित्र बोलपत्रको सूचना प्रकाशन गर्न लगाउन प्रमुख जिल्ला अधिकारी रेग्मीलाई अनुरोध गरिएको छ।
सडक डिभिजन चन्द्रनिगाहपुर र सहरी विकास कार्यालय वीरगञ्जबाट हुने विकास निर्माण सम्बन्धी कार्यको खुल्ला प्रतिस्पर्धाबाट सूचना प्रकाशन गरी बोलपत्र माध्यमबाट गरेको जस्तै पुर्वाधार विकास कार्यालयले पनि गर्नुपर्ने युवा संघको माग छ।