भरतपुर। प्रदेश सभासदस्य कृष्ण सिलवालले विकासका नाममा पर्यावरण र नदीको अस्तित्व सङ्कटमा पर्न नहुने बताएका छन्। इच्छाकामना गाउँपालिकाको फिस्लिङमा भएको सार्वजनिक सुनुवाइमा प्रदेश सभा सदस्य सिलवालले विकासका नाममा पर्यावरणमा असर पर्न नहुने बताएका हुन्।
प्रस्तावित ‘त्रिशूली जलविद्युुत आयोजना’ले जलयात्रा व्यवसायमा सङ्कटमा पर्ने जनाउँदै व्यवसायी चिन्तित बनेपछि सिलवालले यस्तो बताएका हुन्। उनले यसलाई रोक्न आफूले सक्दो पहल गर्ने जानकारी दिए ।
नेपाल र्याफ्टिङ एसोसिएसनका अध्यक्ष शिव अधिकारीले प्रस्तावित जलविद्युत आयोजनाले नदी किनारका ८४ जलयात्रा व्यवसायसँग सम्बन्धित कम्पनी सङ्कटमा पर्ने जानकारी दिए ।
नेपाली नदी संरक्षण संस्थाका अध्यक्ष तथा नदी अभियन्ता मेघ आलेले यति धेरै पर्यटकले देख्ने राष्ट्रको सम्पदा त्रिशूली नदी सङ्कटमा पार्न नहुने बताए ।
गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र चितवनको इच्छाकामना–३ चुमखोलामा निर्माण हुने १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजना निर्माणका लागि प्रारम्भिक काम अघि बढाइएको छ । । नेपालमा आउने ९० प्रतिशत पर्यटकले त्रिशूली नदीमा जलयात्रा गर्न जाने व्यवसायीले जनाएका छन् ।
त्रिशूली सरकारले जलयात्राका लागि खुला गरेका विभिन्न १६ नदीमध्येको प्रमुख गन्तव्य हो ।