काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले गत शनिबार सुर्खेतस्थित वीरेन्द्रनगरपालिका–१ गैरीचोकमा निर्माण व्यवसायीमाथि गोली प्रहार भएको घटनाको भत्सर्ना गरेको छ। महासंघले प्रेस विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायप्रति लक्षित आक्रमणका घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको हो।
महासंघले नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतका सदस्य एवं विनोद निर्माण सेवाका प्रोपाइटर समेत रहेका विनोद गिरीमाथि भएको गोली प्रहारको घटनामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने माग गरेको हाे।
यो घटनाले देशभरका निर्माण व्यवसायीहरू सहित समग्र निजी क्षेत्रमा नै त्रासको वातावरण सिर्जना भएको महासंघको भनाइ छ।महासंघले देशभरका निर्माण व्यवसायीहरू सहित उनीहरूका उपकरणको समेत सुरक्षाको पूर्ण व्यवस्था मिलाउन गृह मन्त्रालयक लगायतका सरोकारवाला सबै निकाय समक्ष जोडदार अपील समेत गरेको छ।
महासंघले भनेको छ, ‘म्याद थपमा देखिएको जटिलताका कारण राज्यबाट पाउनु पर्ने अरवौं रकम समेत नपाई ठूलो मानसिक तनावमा रहेका निर्माण व्यवसायीहरू यस घटनाबाट आतंकित भई अझ विक्षिप्त भएका छन् । अतः महासंघ उक्त गोलीकाण्डमा संलग्न सबैलाई कानूनी कठघरामा ल्याई कार्वाही गर्न माग गर्दै देशभरका निर्माण व्यवसायीहरू सहित उनीहरूका उपकरणको समेत सुरक्षाको पूर्ण व्यवस्था मिलाउन पुन: एक पटक गृह मन्त्रालय लगायतका सरोकारवाला सबै निकाय समक्ष जोडदार अपील गर्दछ।’
गत शनिवार साँझ सुर्खेतस्थित वीरेन्द्रनगरपालिका–१ गैरीचोकमा नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतका सदस्य एवं विनोद निर्माण सेवाका प्रोपाइटर विनोद गिरीमाथि गोली प्रहार भएको थियो।