काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका चार वटा आयोजनाको प्रगति ८० प्रतिशतभन्दा माथि भएको बताएका छन्। बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये चार वटाको प्रगति ८० प्रतिशतभन्दा माथि रहेको बताएका हुन्।
उनले अन्य तीन वटा आयोजना सम्पन्न भइसकेको, छ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म र छ वटाको प्रगति ५० प्रतिशतसम्म भएको जानकारी दिए।
यसैगरी, पाँच वटाको प्रगति १० प्रतिशत मुनी रहेको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सुनकोशी–मरिण ड्राइभर्सन द्रुत गतिमा सञ्चालनमा रहेको बताए।
त्यस्तै विद्युत प्रसारण आयोजना भर्खर कार्यान्वयनमा गएको र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सन्तोषजनक रूपमा अगाडि बढेको उनको भनाइ छ ।उनले बुढीगण्डकी जलविद्युत आयोजनामा लगानी जुटाउन कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको कल्याणकारी कोष र नेपाल टेलिकम लगायतसँग छलफल भएको बताए। सो आयोजनालाई पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार करबाट प्रतिलिटर पाँच रुपियाँ उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए। त्यस्तै व्यक्तिको अधिग्रहण गरिएका जग्गाको मुआब्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको पनि उनले स्पष्ट पारे।