काठमाडौं। चितवनको भरतपुरमा अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको थप पूर्वाधार निर्माणका लागि टेन्डर आह्वान गरिएको छ ।
बजेट अभावले निर्माण अलपत्र बनेको रङ्गशालाको थप पूर्वाधार निर्माणका लागि एक अर्ब १० करोडको ठेक्का आह्वान गरिएको हो।
थप १० हजार क्षमताको प्यारा फिटसहित मैदानलगायतका भौतिक पूर्वाधार निर्माणका लागि ३० महिनाभित्र काम गरिसक्ने गरी टेन्डर निकालिएको महानरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए। सुरुमा रङ्गशाला निर्माण थालेको धुर्मुस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । वरिष्ठ इन्जिनियर आचार्यका अनुसार मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३ र३ तलाको टावर बनाइने छ ।
एउटामा भीआईपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् । यस्तै, गेट, कम्पाउन्डवाल लगायतका थप पूर्वाधार पनि यही भित्र बन्ने आचार्यले जानकारी दिए । ३० महिना ठेक्काको म्याद तोकिए पनि सोभन्दा अगाडि नै रङ्गशालाको काम सक्ने गरी महानगरले सहजीकरण गर्ने बताइएको छ।