काठमाडौं। कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले विराटनगर–लुक्ला माउन्टेन उडान छिट्टै सुरु गर्ने बताएका छन्।
मुख्यमन्त्री कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रलाई प्राथमिकतामा राखेर थप पर्यटन प्रवर्द्धनका लागि विराटनगरबाट माउन्टेन उडान सुरु गर्ने योजना छिट्टै कार्यान्वयनमा आउने बताएका हुन्।
उनले भने, ‘खुम्बु क्षेत्र संघीय राजधानीसँग नजिक भए पनि प्रदेशसँग बिरानो भएको छ। यसलाई समाधान गर्न हामी गम्भीर छौं । केही महिनाभित्रै विराटनगरबाट उडान गर्ने तयारी गरिरहेका छौं।’
सगरमाथा क्षेत्रलाई उपयोग गरे पनि यसको संवर्द्धन गर्न राज्यले नसकेको मुख्यमन्त्री कार्कीको भनाइ छ।
खुम्बुको पर्यटन विकासका लागि आगामी मे २९ तारिख ‘सगरमाथा दिवस’ मनाउन आफूसहितको समूह सगरमाथा क्षेत्र पुग्ने उनले जानकारी दिए।