काठमाडौं। काठमाडौं महानगरपालिका भित्रका सार्वजनिकस्थलका भित्तामा चित्र बनाइने भएको छ। सार्वजनिकस्थलको सुन्दरताका लागि भित्ते चित्र बनाउन महानगरले ५० लाख बजेट छुट्याएको हो।
पहिलो चरणमा माइतीघरबाट बबरमहलको दायाँतर्फको पर्खाल, प्रदर्शनीमार्गका पर्खाल, अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको पर्खालका साथै मीनभवन र लैनचौरको पर्खालमा भित्ते चित्र बनाउनका लागि स्वीकृति दिइसकिएको छ।
स्वीकृत भएका नमूनाबमोजिम ती स्थानमा प्रतिष्ठानले भित्ते चित्र बनाउने भएको छ। यो काम २०८१ जेठ मसान्तसम्ममा सम्पन्न गरिने बताइएको छ। भित्ते चित्र बनाउन प्रतिष्ठानले स्थान र क्षेत्रफलसहितको कार्ययोजना पेस गर्नेछ। स्वीकृत कार्ययोजनाका आधारमा काम हुनेछ।