महोत्तरी। रातु नदीमा अवैध उत्खनन् भएको भन्दै रोक्न सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ। वातावरणमा प्रतिकुल असर पर्ने गरी उत्खनन् भएको भन्दै विभिन्न राजनीतिक दलले मिलेर मुद्दा दायर गरेका हुन्।
बर्दिवास नगरपालिकाले लगाएको ठेक्काबाट नदी नियमसंगत नखनिएको उनीहरुको आरोप हुन्छ। नगरले ठेक्का लगाएको रातुको ४ वटै खण्डमा मापदण्ड विपरित उत्खनन् भएको र नदीजन्य पदार्थको घाट गद्दी नगरी राजस्व छली गर्दै निकासी भइरहेको उनीहरुको भनाइ छ।
नगर कार्यपालिकाबाट पास गरेको वातावरणीय प्रभाव मुल्यांकननै वातावरणीय प्रतिकूल नभएको, मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन् गरेको, स्थानीय सरकारले नै अवैध दोहनमा पक्षपोषण गरेको, निकासी नियमसंगत नभएकाले राजस्व छली भएको जस्ता समस्या देखिएपछि उत्खनन् रोक्न माग गर्दै मुद्दा दायर गरेको राजनितीक दलहरुले बताएका छन् ।
नेकपा एमाले, माओवादी केन्द्र, लोसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीसहितका प्रतिनिधिहरुले बर्दिवास नगरपालिकाबाट यसवर्षको ठेक्का पाएका देव विष्णु कन्टक्सन र राजेश एण्ड ब्रदर्श निर्माण तथा सप्लायर्स दोलखा भिमेश्वरसहित १२ वटा कार्यालयहरुलाई विपक्षी बनाएर मुद्दा दायर गरिएको छ।