गोरखा। गोरखाको सहिदलखन गाउँपालिका–८ मा रहेको महादेव थुम्काडाडामा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ। सहिदलखन गाउँपालिकाको बुङकोट आधारभूत स्वास्थ्य केन्द्रको ४ कोठे पक्की भवन निर्माण गरिएको हो।
विगत ५ वर्षदेखि आमा समूहले बनाएको सामुदायिक भवनबाट बुङकोटवासीहरुलाई स्वास्थ्य सेवा दिँदै आइएको थियो। अब भने स्वास्थ्य केन्द्रको आफ्नै भवन निर्माण भएको छ।
भवन निर्माण गर्नका लागि कल्याण निर्माण सेवासँग २०७९ साल माघ ११ गते सम्झौता गरिएको थियो ।
सम्झौतामा २०८० असार मसान्तसम्म भवन निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएता पनि समयमा काम सम्पन्न नभएपछि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै २०८० पुस मसान्तसम्म म्याद थपिए अनुसार काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।
आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणको लागि गाउँपालिकाको आफ्नै बजेटमा कुल ५४ लाख ९१ हजार ५ सय ५६ रुपियाँमा गाउँपालिका र निर्माण कम्पनी बिच सम्झौता भएको हो ।