काठमाडौं। पछिल्लो समय विद्युत् क्षेत्रको विकासमा सक्रिय बनेको औद्योगिक घराना गोल्यान समूहको भगिनी कम्पनी प्योर इनर्जी लिमिटेडले सर्वसाधारणलाई साधारण सेयर निष्कासन गर्ने भएको छ । प्योर इनर्जीमार्फत नेपालमा पहिलोपटक सौर्य ऊर्जातर्फ सेयर जारी हुन लागेको हो ।
कम्पनीले सय रुपैयाँमा अंकित १६ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेका जनाइएको छ । कम्पनीले १६ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति माग गरेको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।
समूहले प्योर इनर्जीमार्फत ६० मेगावाटको सौर्य ऊर्जा परियोना अघि सारेको छ । जसमध्ये २० मेगावाटका दुई आयोजनाको निर्माण पूरा गरी सञ्चालन भइरहेको छ । बाँकी ४० मेगावाटका ४ आयोजना निर्माणका विभिन्न चरणमा छन् ।