सुनसरी। धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ। सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र धरान उपमहानगपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट निर्माण भइरहेको बसपार्कको भौतिक प्रगति ८० प्रतिशत भएको हो।
बसपार्क करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बनिरहेको छ। ३३ करोड ७० लाख ४७ हजार तीन सय ३७ लागत अनुमान गरिएको बसपार्क आयोजनाको बिकोइ गीताञ्जली जेभी दुहबी सुनसरीले रू २३ करोड १५ लाख तीन हजार दुई सय ७७ मा ठेक्का सम्झौता गरेको थियो । तीन वर्षभित्र काम सम्पन्न गर्नेगरी विसं २०७८ असार ३० सम्झौता भएको निर्माण कम्पनीले जनाएको छ ।
हालसम्म बसपार्कको टर्मिनल भवन निर्माण सकिएको छ भने विद्युत् र पानीको लाइन विस्तारको काम भइरहेको छ । बसपार्कको बाह्य सडक, मार्बल, फल्स, सिलिङ लगाउने काम भइरहेको कम्पनीले जनाएको छ ।