काठमाडौं। तीन वटा जलविद्युत् कम्पनीले करिब ४९ लाख कित्ता सेयर निष्कासन प्रक्रिया अघि बढाएका छन् । देशको विभिन्न ठाउँमा जलविद्युत् आयोजना निर्माण गरिरहेका कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन्।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसधारणका लागि सेयर निष्कासन अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् । कम्पनीहरूले ४८ लाख ८५ हजार ७ सय ५० कित्ता साधारण सेयर निष्कासन माग गरेका छन्। बोर्डका अनुसार आवेदन दिएकामध्ये सबै भन्दा बढी लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेड रहेको छ ।
यो कम्पनीले २८ लाख ५ हजार ७ सय ५० कित्ता सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले भोजपुरमा १४.१५ मेगावाटको लोअर इर्खुवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । अहिले आयोजनाको अन्तिम चरणको काम भइरहेको भइरहेको छ ।
हिम रिभर पावर लिमिटेडले पनि १३ लाख ३० हजार कित्ता सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले अहिले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिमा १६.२६ मेगावाटको लिपिङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
यस्तै, कालिन्चोक हाइड्रो पावर लिमिटेडले ७ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ।