काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । नगरपालिकाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख टोकबहादुर वाइबाले नगरपालिका स्थापना दिवसका अवसरमा नयाँ भवनको राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन्।
नगरपालिकाले गत असोज ३ बाट नयाँ भवनबाट सेवा प्रवाह सुरु गरे पनि औपचारिक उद्घाटन आगामी आइतबार गर्न लागेको हो । निर्माण कम्पनी विकोई जयमाता जेभीसँग २०७९ साल पुस १७ गते भवन निर्माण सम्पन्न गर्ने गरी २०७७ साल पुस १० गते ठेक्का सम्झौता भएको भन्दै नगर प्रवक्ता पुरुषोत्तम बजगाईंले कोरोना, आर्थिक मन्दीलगायतका कारण देखाउँदै तोकिएको समयमा काम सम्पन्न नहुने अवस्था आएपछि गत पुस मसान्तसम्म काम सम्पन्न गर्नका लागि म्याद थप गरिएको बताए।
निर्माण व्यवसायीले सुरुमा १४ करोड २२ लाख ९४ हजार ९४२ रुपियाँमा ठेक्का सम्झौता गरे पनि पछि केही काम थप भएपछि प्रशासनिक भवन, सभा हललगायतका संरचना निर्माण लागत १६ करोड १९ लाख ७९ हजार रुपियाँ पुगेको छ । निर्माण व्यवसायीलाई दुई करोड पाँच लाख ३३ हजार ३७५ भुक्तानी दिन बाँकी रहेको छ । नगरपालिकाको भवन निर्माणका लागि सङ्घीय समपूरकबाट एक करोड ८० लाख, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकबाट दुई करोड र सङ्घीय अनुदानबाट दुई करोड ४० लाख रुपियाँ प्राप्त भएको नगरपालिकाले जनाएको छ ।