काठमाडौं। पाल्पाको तानसेन नगरपालिका–९ दमकडाका ज्येष्ठ नागरिकका लागि निर्माण गर्न लागिएको न्यानो घरका लागि आर्थिक अभाव भएको छ। आर्थिक अभावका कारण तीन तले भवनको एक तला मात्र निर्माण गरिएको हो।
समितिका अध्यक्ष मीनप्रसाद बञ्जाडेका अनुसार दुई तला आर्थिक अभावले निर्माण गर्न नसकिएको हो। तानसेन नगरपालिकाको आर्थिक सहयोगमा उक्त भवन निर्माण सुरु गरिएको हो। ३० लाखको लागतको उक्त भवन असारमा सम्पन्न गर्नुपर्ने थियो। भवन निर्माण सम्पन्न भएपछि वृद्धवृद्धाका लागि इन्टरनेटसहित हेरालुको व्यवस्था गर्ने लक्ष्य रहेको थियो। तर, वजेट अभावमा घरनै निर्माण हुन नसकेपछि वृद्धवृद्धा समस्यामा परेका छन्।
स्थानीय सरकारले समयमा नै भवन निर्माण पूरा गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ। वृद्धवृद्धालाई दिनभर घरमा बसिबसी समय बिताउन समस्या हुने गरेको छ।
तानसेनका नगर प्रमुख अशोककुमार शाही सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षाभत्ता बाहेक अन्य क्षेत्रमा सहयोग गर्न नसकेको अवस्थामा नगरपालिकाले न्यानो घरको अवधारणा अघि बढाएको जानकारी दिए।