काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो २०२४’ बिहीबारदेखि सुरु हुने भएको छ। स्थानीय उत्पादन प्रवर्द्धन एवम् बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले भृकुटीमण्डपमा बिहीबारदेखि सोमबारसम्म एक्स्पो हुन लागेको हो ।
एक्स्पोमा कृषि सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका वस्तुहरू प्रदर्शनीमा राखिने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । घर–जग्गा व्यवसाय, खाद्य एवम् पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निर्माण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू समेत प्रदर्शनीमा रहने छन् । कृषि, हस्तकलालगायत स्थानीयस्तरमा उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन एवम् साना व्यवसायीहरूको आर्थिक गतिविधि विस्तार गर्नका लागि एक्स्पोको आयोजना गरिएको बताइएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा चेम्बर एक्स्पो हुन लागेको हो । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका एक सय ६० भन्दा बढी स्टल रहने आयोजक चेम्बरले उल्लेख गरेको छ । एक्स्पोमा फोकस कन्ट्रीका रूपमा दक्षिण कोरिया रहेको छ ।