काठमाडौं। विराटनगर एकीकृत भन्सार जाँच बिन्दुमा रोकिएका जलविद्युत् आयोजनाका सामानहरू नेपाल भित्रिन थालेका छन्। मंगलवारदेखि भन्सारमा रोकिएका आयोजनाका सामानहरूको जाँचपास सुरु भएको हो।
विगतमा विद्युत् विकास विभागको सिफारिसमा भन्सार छुट सुविधा पाउँदै आएकोमा फागुन १ गतेपछि भने विभागको पत्र बुझाउँदा पनि भन्सारले सामान जाँचपास गर्न अस्वीकार गरेको थियो । भन्सारले जाँचपास रोकेपछि एक दर्जन जलविद्युत् आयोजनाले मगाएका पेनस्टक पाइप, हाइड्रो तथा इलेक्ट्रो मेकानिकल सम्बन्धी उकरण तथा निर्माणमा प्रयोग हुने अन्य उपकरण गरी करीब २०० ट्रक सामान भन्सारमा रोकिएका थिए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)ले रोकिएका सामानहरू छुटाउन अर्थ मन्त्रालय, भन्सार विभाग र विराटनगर भन्सार कार्यालयमै गएर पहल गरेको थियो।
आयोजना प्रवर्द्धक कम्पनी, जलविद्युत् आयोजना वा त्यसका ठेकेदारले सामान ल्याउन पाउने व्यवस्था रहेकोमा चालु आर्थिक वर्षको आर्थिक ऐनमा जलविद्युत् आयोजना वा त्यसका ठेकेदारले सामान ल्याउने आयोजनासँग सम्बन्धित सामानमा मात्रै भन्सार पास गर्ने व्यवस्था गरेपछि भन्सारमा आएका नयाँ अधिकारीहरू अन्यौलमा परेका थिए । इपानले उक्त अन्यौल हटाउन सहजिकरण गरेपछि सामानहरूको जाँचपास सुरु भएको हो ।