गुल्मी। अर्घाखाँचीको छत्रदेव गाउँपालिका र गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले विश्राम स्थल निर्माणका लागि शिलान्यास गरेका छन्। दुइ पालिकाको संयुक्त लगानीमा कालिगण्डकी किनार रिडीमा विश्राम स्थल बनाउन छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ र रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।
गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा हिन्दु धर्मावलम्बीको अन्तिम दाहसंस्कार गर्ने ठाउँ नजिकै छत्रदेव–रुरु क्षेत्र विश्राम स्थल निर्माण गर्न लागिएको हो ।
दाहसंस्कार गर्न आउने मलामीहरूको सुविधाको लागि निर्माण गर्न लागिएको विश्राम स्थल, शौचालय, खानेपानी र बस्ने ठाउँ समेत बनाइने छ।
शिलान्यास कार्यक्रममा छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले रुरु क्षेत्र, रिडी, कालिगण्डकी सबैको सामूहिक सम्पत्ति भएको बताए। उनले रिडीमा दाहसंस्कार गर्न अर्घाखाँचीदेखि पनि आउने गरेको हुँदा सबैको सहजताका लागि रुरु क्षेत्र गाउँपालिकासँग साझेदारी गरिएको जानकारी दिए।
रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले दाहसंस्कार गर्न आउने मलामीलाई सजिलो होस भन्नका लागि दुवै पालिका मिलेर यो योजना बनाएको बताए।