बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट चालू आर्थिक वर्षमा ८ करोड बढी राजस्व संकलन गर्ने भएको छ ।
यस वर्ष नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान गरी ८ करोड ६७ लाख ९६ हजार ९ सयमा ठेक्का सम्झौता भएको हो।
यस आर्थिक वर्षमा राप्ती सोनारी गाउँपालिकाअन्तर्गत पर्ने विभिन्न पाँच घाटको नदीजन्य पदार्थको एकमुष्ट ठेक्का लगाइएको हो।
नवलपरासीको सरवल गाउँपालिका–१ स्थित चुर कन्स्ट्रक्सन एन्ड ढकाल सप्लायर्सले पाँचवटै घाटको नदीजन्य पदार्थको एकमुष्ट ठेक्का सम्झौता गरेको छ। गाउँपालिका–२, ४, ५, ६ र ९ मा पर्ने बग्दैलाघाट, सिधनियाघाट, आलिनगरी, खल्लाटपरी घाट र जलालाघाटको ठेक्का सम्झौता भएको हो ।
नदीजन्य पदार्थको समयमै ठेक्का सम्झौता भएकाले चोरी–निकासीको समस्या कमी भएको गाउँपालिकाले जनाएको छ।