काठमाडौं। कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकलाई राख्न निर्माण सुरु गरिएको ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्रको काम अन्तिम चरणमा पुगेको छ। उक्त ‘होल्डिङ सेन्टर’ यसै महिनाको अन्तिमदेखि सञ्चालनमा आउने नेपाली सेनाले बताएको छ।
मन्त्रिपरिषद्को निर्णयबमोजिम सो ‘होल्डिङ सेन्टर’को निर्माण नेपाली सेनाले गरिरहेका छन्। सैनिक प्रवक्ता पौड्यालका अनुसार अहिले करिब दुई अर्ब रुपियाँको लागतमा ती सेन्टरहरू निर्माण भइरहेका छन्।
प्रवक्ता पौड्यालले भने, नेपाल–भारत सीमा नाका कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, झापाको काँकडभिट्टा, मोरङको रानी, कपिलवस्तुको कृष्णनगर, पर्साको वीरगञ्ज, बाँकेको नेपालगञ्ज र रुपन्देहीको बेलहियामा कम्तीमा एक हजार क्षमताको होल्डिङ सेन्टर बढाउने निर्णय गरेको थियो।
उनका अनुसार, कोभिड–१९ का सङ्क्रमितहरूका लागि क्वारेन्टाइन, आइसोलेसन तथा उपचार गर्नेगरी यो बहुउद्देश्यीय भवनको निर्माण भइरहेको छ।