डोटी। डोटीको बडीकेदार गाउँपालिकास्थित केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको भवन निर्माणका लागि शिलान्यास गरिएको छ। भारत सरकारको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको भवनको सोमबार शिलान्यास गरिएको हो।
भवनको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले शिलान्यास गरेका हुन् । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु २.८९ करोड आर्थिक सहयोगमा भवन निर्माण गरिने भएको छ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो कार्यक्रमलाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५० वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ भने ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् ।