सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाले आज हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा डोजर चलाउने भएको छ।
संरचना भत्काउन पटक पटक अनुरोध गरेपनि व्यवसायीहरूले अटेर गरेपछि नगरप्रमुख मोहनमाया ढकालले यी क्षेत्रका संरचनामा आज डोजर चलाउने भएकी हुन् ।
आज बिहान ११ बजेतिर डोजर लिएर जाने र संरचना भत्काउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ।
माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीहरूलाई आफ्ना संरचना हटाउन सूचना जारी गरेको थियो। नगरपालिकाले निकालेको सूचना फागुन २३ गते सकिएको छ । त्यसपछि मंगलबारसम्म समयावधि तोकिएको थियो । तर व्यवसायीहरू संरचना हटाउनुको साटो आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले पटक–पटक संरचना हटाउन आग्रह गरेपनि अटेर गरिरहेकाले आज नगर आफैँले भत्काइदिने गरी एक्सनमा उत्रिएको हो ।