महोत्तरी। महोत्तरीको मुख्य सीमानाकाका रूपमा रहेको भिट्ठामोड मलिवाडामा सुक्खा बन्दरगाह बनाउनेसम्बन्धी फाइल वाणिज्य मन्त्रालयबाट हराएपछि निर्माणमा ढिलाइ भएको खुलासा भएको छ । जलेश्वर उद्योग वाणिज्य सङ्घले हालै जलेश्वरमा आयोजना गरेको सुक्खा बन्दरगाह तथा तेस्रो मुलुकबाट आयातनिर्यातसम्बन्धी छलफल कार्यक्रममा यस्तो रहस्योद्घाटन भएको हो ।
सङ्घका अध्यक्ष लवराजा सिंहले आर्थिक वर्ष २०७९/८० को बजेटमा समेत भिट्ठामोडमा सुुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि अहिलेसम्म काम अगाडि नबढेकोले चासो दिँदा वाणिज्य मन्त्रालयबाट फाइल अर्थ मन्त्रालयमा नपुगेको देखिएको जानकारी दिए ।
भारतले एकीकृत जाँच चौकी बनाउन भौतिक पूर्वाधार तयार गरिरहेको भए पनि नेपालतर्फबाट कुनै ठोस कदम उठान भएको छैन भने तत्कालीन अर्थमन्त्रीले भन्सार निरीक्षण गरेर सुक्खा बन्दरगाहको काम अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको जानकारी दिनु हुँदै उनले सुक्खा बन्दगाह निर्माण खाली प्रतिबद्धतामा मात्रै सीमित भएको आरोप लगाए ।
जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले फागुपूर्णिमापछि जलेश्वरमा सर्वदलीय र सर्वपक्षीय अन्तरक्रियाकाे आयोजना गरी सुक्खा बन्दरगाह निर्माणमा कहाँ समस्या छ ? ढिलासुस्ती किन भइरहेको छ ? बुझ्न जाने सोच रहेको बताए । उनले भने, “पहिलो चरणको छलफलमा फागुपछि सर्वदलीय र सर्वपक्षीय बैठक बसेर एक प्रतिनिधिमण्डल प्रधानमन्त्री तथा अर्थमन्त्री कहाँ जाने निर्णय भएको छ ।”
छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशको उपाध्यक्ष जितेन्द्र महासेठले भिट्ठामोडमा सुक्खा बन्दरगाह निर्माणका लागि समय समयमा विभिन्न सरोकारवालालाई ज्ञापनपत्र बुझाउँदासमेत काम अगाडि नबढेकोले केन्द्रमा राजनीतिक दबाब आवश्यक रहेको बताए । गाेरखापत्रबाट