गोदावरी। कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । कैलारीको वडा नं ५ स्थित बैजपुरमा निर्माणाधीन सो अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।
अस्पताल निर्माणका लागि विसं २०७९ असार २९ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । अस्पताल निर्माणको अवधि आगामी असारसम्म रहेको छ।
चार वर्षअघि हरेक स्थानीय तहमा अस्पताल हुनुपर्ने संघीय सरकारको नीतिअनुसार सो अस्पताल निर्माण गरिन लागेको हो । संघीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत १८ करोड ५२ लाख रहेको गाउँपालिकाले बताएको छ।
सकेसम्म चैत मसान्तभित्रै भवन हस्तान्तरण भएर चालु आर्थिक वर्षको असार मसान्तबाट अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य रहेको आयोजनाले बताएको छ।