काठमाडौं। काठमाडौं महानगरपालिकाले ‘सुलभ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेटबमोजिम स्वर्णिम योजनाकारुपमा न्यूनतम मूल्यमा औषधि विक्री वितरण गर्ने गरी ‘सुलभ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्ने भएको हो।
बुधबार प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको अध्यक्षतामा बसेको बैठकले उक्त कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका तयार गर्न कार्यदल गठन गरेको छ। बैठकमा प्रमुख प्रशासकीय अधिकृत परियारले सकेसम्म छिटो सुलभ फार्मेसी सञ्चालनका लागि निर्देशिका तयार गरी अघि बढ्नुपर्ने बताए ।
बैठकले महानगरको कानून तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यको संयोजकत्वमा निर्देशिका मस्यौदा समिति गठन गरिएको छ । समितिको सदस्यमा फर्मासिष्ट बाबुराम हुमागाईँ, संगीता माथेमा, चैन बज्राचार्य, मणि लामा र स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जन रहेका छन् । निर्देशिकाको मस्यौदा तयार गर्न सो कार्यदललाई ७ दिनको समय दिइएको छ ।