काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा राखेर अनुसन्धानका लागि अनुमति लिन सोमबार जिल्ला अदालत, काठमाडौंमा पेश गरेको थियो। अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सीआईबीले जनाएकाे छ।
महरालाई सोमबार बिहान कपिलबस्तुबाट पक्राउ गरिएको थियो। उनी पक्राउ पर्ने सूचना पाएपछि भारततिर भाग्न लागेका थिए।
पूर्व सभामुख समेत रहेका महराले काठमाडौं छोडेको सूचना पाएपछि प्रहरीले सीमा नाकामा कडाइ गरेको थियो। उनी सोमबार बिहान भैरहवा नाका भएर भारततिर जाने तयारीमा थिए। उनलाई कपिलबस्तुबाट काठमाडौं ल्याएर सीआईबीको जिम्मा लगाइएको थियो।