काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले निर्माण व्यवसायीको ४० अर्ब रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएका छन्। अर्थमन्त्री पुनले निर्माण व्यवसायीलाई भुक्तानी गर्न बजेट महाशाखालाई निर्देशन दिएका हुन्।
अर्थमन्त्रीको सचिवालयका अनुसार अर्थमन्त्री निर्माण व्यवसायीकाे सबै भुक्तानी क्लियर गर्ने मुडमा छन् । तत्काललाई ४० अर्ब विनियोजन गर्न भनिएको सचिवालयले जनाएको छ।
अर्थले सम्बन्धित मन्त्रालयलाई दिएपछि उक्त रकम व्यवसायीहरुलाई भुक्तानी गरिनेछ । यसअघि बजेट अभाव भएका निर्माण व्यवसायीहरुकाे भुक्तानी दिन नसकिएकाे भन्दै अर्थमन्त्रीहरू पन्छिँदै आएका थिए।
विशेषगरी विकास निर्माणसँग सम्बन्धित मन्त्रालयलहरु भौतिक पुर्वाधार, शहरी विकास, खानेपानीलगायतले निर्माण व्यवसायीको भुक्तानी गर्न बाँकी रहेको रकम उल्लेख गरी एलएमबीआईएसमा अपडेट नगर्दा समस्या भएको अर्थका अधिकारीहरु बताउँदै आएका थिए।
व्यवसायीहरुले विगतका वर्षमा साउन १५ भित्रै भुक्तानी हुने गरेकोमा अहिले ८ महिना बितिसक्दा पनि भुक्तानी नभएकोले निर्माण उद्योग नै संकटमा परेको व्यवसायीहरु गुनासो गर्दै आएका छन्।
पुन अर्थमन्त्री हुनासाथ नै निर्माण व्यवसायीहरूकाे भुक्तानीका विषयमा चासाे राखेका थिए। यसअघि पनि मन्त्रालयमा भएकाे आन्तरिक ब्रिफिङको क्रमममा मन्त्री पुनले निर्माण व्यवसायीहरुको भुक्तानी के कति रहेको विषयमा चासो राख्दै आन्तरिक ऋण उठाएर भएपनि भुक्तानी दिनको लागि निर्देशन दिएका थिए।