खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ माटिकोरेको फुलबल स्टेडियम निर्माणको काम सुरु गरिएको छ। २०८१ बैशाख २८ गतेसम्ममा सक्ने गरी ठेक्का लिएको निर्माण कम्पनीले बल्ल काम सुरु गरेको हो ।
उक्त कामको ठेक्का आशिर्वादरमोहन एण्ड गाउँबेसी/इन्द्रलक्ष्मी कन्ट्रक्सनले लिएको हो । २०८१ बैशाख २८ गतेसम्म सक्ने गरी २०७९ बैशाख २९ गते सम्झौता गरेको थियो । नगरपालिकाको दुई करोड ९६ लाख ४१ हजार चार सय ९५ रूपैयाँको लागतमा सम्पन्न गर्ने गरी ठेक्का लिए पनि काम भने अलपत्र थियो । पटक–पटकको ताकेतापछि काम सुरु भए पनि यसको गति भने मन्द भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले बताए ।
एक वर्षअघि नै काम थालिए पनि प्रगति भने न्यून रहेको भट्टराईको भनाई छ । उक्त निर्माण कम्पनीले मोबिलाइजेसन पेश्की वापत २९ लाख ६४ हजार लिएर काम थालेको थियो । सम्झौता भएको एक वर्ष बितिसक्दा पनि कामको मेसो नदेखिएको भन्दै खेलाडीहरुले गुनासो गर्दै आएका छन् । नगरपालिकाका इन्जिनियर रामहृदय पटेलका अनुसार एक वर्षमा अहिलेसम्मको प्रगति दश प्रतिशत मात्र छ । इकान्तिपुरबाट