काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा ४ जनालाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ जनालाई आयोगको सदस्यमा नियुक्त गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
सूचना तथा सञ्चार प्रविधिमन्त्री समेत रहेकी शर्माका अनुसार ललितपुरका डा.अरनिको पाण्डे, काठमाडौंकी प्रा संगीता सिंह, जुम्लाका डा.कुशरेन्द्रबहादुर महत र पाल्पाका प्रा.शिवराज अधिकारीलाई आयोगको सदस्य नियुक्त गरिएको हो।
त्यसैगरी मन्त्रीपरिषद् बैठकले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली जना तीन जना गरी दश जना पर्वतारोहीहरुलाई सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल– १ (६५९१ मिटर) र जुगल– २ (६५१८ मिटर) हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने निर्णय गरेकाे छ।
नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पद १ मा श्री चुडामणि पौडेललाई बढुवा नियुक्त गर्ने समेत निर्णय भएकाे प्रवक्ता शर्माले जानकारी दिइन्।