काठमाडौं। अर्थमन्त्री वर्षमान पुनलाई नेपालका लागि रुसी राजदूत अलेक्सेई नोभिकोभले भेटेका छन्। बुधबार अर्थमन्त्री पुनलाई बधाइ दिनका लागि राजदूत अलेक्सेई नोभिकोभले अर्थ मन्त्रालय पुगेर भेट गरेका हुन्।
भेटमा राजदूत अलेक्सेईले रुसले आगामी वैशाखमा हुने लगानी सम्मेलनमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी गर्ने योजना अघि सारेको र यसका लागि लगानीको क्षेत्र पहिचान गर्न रुसी प्रतिनिधिमण्डल बिहीबार नेपाल आउँदै गरेको समेत जानकारी दिए।
भेटमा अर्थमन्त्री पुनले नेपालले आगामी वैशाख १६ र १७ गते आयोजना गर्न लागेको लगानी सम्मेलनमा बढीभन्दा बढी रुसी लगानीकर्ता आउने वातावरण बनाउन आग्रह गरे । जवाफमा राजदूत नोभिकोभले अर्थमन्त्री पुनको प्रस्ताव सकारात्मक रहेको बताउँदै रुसी लगानीकर्तासँग कुरा गर्ने प्रतिवद्धता जनाए ।
यसैगरी, अर्थमन्त्री पुनले ठूला जलविद्युत् आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन् ।