काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई हाजिरी जमानी छाड्ने निर्णय गरेको हो ।
अधिकृतहरूले दुई दिन लगातार महराको बयान लिएकाे बताइएकाे छ । स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधवार र बिहीबार माइतीघर स्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा ल्याएर बयान गराएका हुन् ।
२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरूले उनलाई प्रश्न गरेका छन् । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनः मुद्धा चलाउन सिफारिस गरेको थियो ।